ePurwa

झापाको माई मेलामा घुइँचो (फोटो फिचर)


आइतवार, माघ १, २०७९

झापा । झापाको कनकाई माई नदी किनारमा लागेको माई मेलामा भक्तजनहरूको घुइँचो लागेको छ । आज मकर अर्थात् माघे सङ्क्रान्ति हो । हरेक वर्ष आजको दिन स्वतःस्फूर्त रुपमा कनकाई माई नदी किनारमा भव्य मेला लाग्दै आइरहेको छ ।

धार्मिक आस्था र विश्वास राख्ने भक्तजनहरूले मकर सङ्क्रान्तिका दिन सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जप तप, तीर्थ, व्रतलाई उत्तम मानिन्छ । त्यसैले नदीमा नुहाएर पूजाआर्चना गरे आफूले चिताएका मनकामना पूरा हुने धार्मिक विश्वास रहेको भक्तजनहरू बताउँछन् । आइतबार बिहानैदेखि नदी किनारमा पूजापाठ गर्नेहरूको घुइँचो थियाे ।

कोरोना भाइरस सङ्क्रमणका कारण विगत दुई वर्ष आयोजक समितिले मेला लगाएनन् । यसपल्ट आयोजक समितिले भव्य मेलाको आयोजना गरेको हो । विगतमा तीन दिन लाग्दै आएको मेला अहिले पाँच दिनसम्म लाग्ने गरेको छ । कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको संयुक्त आयोजनामा नदीको दुवै किनारमा मेला लगाइएको हाे ।

मेलामा रोटेपिङ, विभिन्न खेल तमासा, ब्रेकडान्स, बटर फ्लाई, कोलम्बस, विभिन्न जातजातिका झाँकी, कला साहित्यका विविध कार्यक्रम आयोजना गरिएको स्थानीय लक्ष्मण अधिकारीले बताए ।

मेलाका कारण पूर्व पश्चिम राजमार्ग अन्तरगतको कनकाई नदीको पुलमा भिडभाड नियन्त्रणका लागि नदीमै आयोजक समितिले काठको पुल निर्माण गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

डीएसपी पाठकका अनुसार कनकाई पुल पारीवारि दुई डीएसपीको नेतृत्वमा तीन सय सुरक्षाकर्मी परिचालन गरिएको छ । राजमार्गमा ट्राफिक व्यवस्थाका लागि ट्राफिक प्रहरी र मेला स्थलमा सादा पोसाकमा पनि प्रहरी खटाइएको उनले बताए ।

माई मेलामा झापा, मोरङ, सुनसरी, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ लगायत भारतको सिलिगुडी, सिक्किम, दार्जिलिङ, असाम, मणिपुर लगायत भुटानबाट पनि भक्तजनहरू आउने गरेका छन् ।

सम्बन्धित खबर