ePurwa

कविताः आमा, खै त तिम्रा आफन्तहरू ?


बुधवार, पौष २७, २०७९

विकास दुलाल

आमा, खै त तिम्रा आफन्तहरू?
कहाँ गए?
कता हराए?
तिम्रो यो अवस्था पारेर
यस प्रकारले जिम्दै मारेर
कहाँ गए?
के भए?
तिम्रा प्यारा मुटुका टुक्रा?
मेरो प्यारो बाबु
मलाई पाल्ने-पोस्ने भन्दै
अति कष्ट गर्यौ
अति तापको रापमा जल्यौ
उसलाई ओतमा राखी आफू
उसको छहारी बन्यौ
उसलाई कहिल्यै रूझ्न दिइनौ
थाहा छ मलाई अझै
तिमीले आफ्नो मुटुको टुक्रोका लागि
के-के गर्यौ ?
कति ज्वलन सह्यौ ?
तर … के गर्नु?
आज त्यै मुटुको टुक्रो
बञ्चरो बनेर निस्कियो
निरन्तर तिमीमाथि प्रहार गर्यो
त्यै पनि तिमी यी सबै
वेदना र क्लेशहरू
लुकाएर हिँड्छ्यौ
मुटु दुखाएर बाँचेकी छ्यौ
आखिर किन आमा?….किन…?

नौ महिनासम्म गर्भमा बोकी
संसार देखाउने
मानवताको उच्च शिखरमा पुर्याउने
ज्ञान र चैतन्यको मुहान प्रवाह गराउने
सन्तान सुखलाई मात्र सदैव मनपराउने
यस्ती महान् जननीमाथि यत्रो प्रहार?
स्वर्गीय वैभवभन्दा कयौँ गुणले शोभायमान
ममतामयीमाथि नर्कमयी आचरण?
त्यै पनि तिमी अवाक् छौ?
मौन छौ?
किन आमा ? कि……न?

धिक्कार्छु म त्यस्ता छोरालाई
धिक्कार्छु म त्यस्ती छोरीलाई जसले
आफ्नी आमालाई सतायो
जिम्दै मरायो औ पागल बनायो
जसले
बुहारीका पोल सुनेर बोक्सीको आरोप लगायो
जुवाईँका कुरा सुनेर अलक्षिना जस्तो दुर्वाक्य बोल्यो
छि… छि… छि…
धिक्कार्छु तिमीहरूजस्ता शिक्षकलाई
धिक्कार्छु तिमीहरूजस्ता
डाक्टरलाई
धिक्कार्छु तिमीहरूजस्ता प्रहरीलाई
धिक्कार्छु तिमीहरूजस्ता समाजसेवीलाई
किन थाहा छ?
किनकि
जुन शिक्षकले आफ्नी आमालाई अनादर गर्छ
त्यसले शिक्षार्थीलाई मातृप्रेमको कस्तो पाठ सिकाउला?
जुन डाक्टरले आफ्नी आमाको अन्तर्घातलाई बुझिदिएन
त्यसले अरूको मर्महरण कसरी गराउन सक्ला र?
जुन प्रहरीले आफ्नी आमाको हत्यारालाई ठम्याउन सकेन
त्यसले परआमाको उजुरी कसरी पो मिलाउन सक्ला र?
जसले समाजसेवाको धाक लाउँछ औ
जसलाई समाजसेवाको ‘स’ समेत थाहा छैन
त्यसले कसरी मातृसेवा गर्न सक्ला र?

जब यस्ता आफैँलाई महान् देखाउने तथा
गुरूत्त्वपूर्ण पदमा पदासीन भएका
शिक्षक डाक्टर प्रहरी समाजसेवी भनौदाहरूले त
तिमीमाथि निर्मम प्रहार गर्छन्
तिमीलाई तुच्छ तथा स्वास्नीलाई सर्वेश्वरी ठान्छन् भने त भो अब सर्वसाधारण
तथा अन्धविश्वासीहरूको त कुरै छाडौं
यस्तै यस्तै दुर्दशा देखेर सुनेर र
भोगेर त मैले भन्ने गरेको छु त
“आमा, खै त तिम्रा आफन्तहरू?”
००००
(विश्वनाथ, असम, भारत।)

सम्बन्धित खबर