ePurwa

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै


बिहिवार, असार १४, २०८०

विराटनगर । अल्पमतमा परेका कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले सहज रुपमा विश्वासको मत पाउने अवस्था देखिँदैन । मुख्यमन्त्रीले विश्वासको मत नपाए अर्को दललाई बहुमत जुटाएर सरकार गठन गर्न पनि अप्ठ्यारो छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीलाई एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना प्रदेशसभा सदस्यको समर्थन छ। तर सरकार टिकाइराख्न ४७ सदस्यको समर्थन चाहिन्छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एकजना गरी ४७ सदस्य छन् । तर सभामुख माओवादी केन्द्रका बाबुराम गौतम छन् । दुवैतर्फ बराबरी मत भएको अवस्थामा बाहेक सभामुखले मतदान गर्न पाउँदैनन्।

एमाले र राप्रपाका कुनै प्रदेशसभा सदस्य अनुपस्थित भएको अवस्थामा सभामुखले मतदान गर्न नपाउने भएकाले नयाँ बन्ने सरकारले पनि विश्वासको मत पाउने अवस्था देखिँदैन ।

सम्बन्धित खबर